त्रिभुवन विश्वविद्यालयमा आठ जना डिन नियुक्त
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को बैठकले आठ जना डिन नियुक्त गरेको छ ।
हिजो बसेको बैठकले आठ वटा सङ्कायका डिन र तीन वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
आज नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिनमा प्रा.डा.द्विविनन्द ढकाल नियुक्त हुनुभएको छ ।
यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्रा.डा.मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा.किशोरचन्द्र दाहाल र शिक्षाशास्त्र सङ्कायमा प्रा.डा.वेदराज आचार्य नियुक्त हुनुभएको छ ।
यस्तै वन विज्ञान अध्ययन संस्थानमा डा.ठाकुर सिलवाल, व्यवस्थापन सङ्कायमा प्रा.डा.महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर बज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाल डिन नियुक्त हुनुभएको छ ।
बैठकले योजना निर्देशनालयका निर्देशकमा डा.लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा.राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा.मीना राजभण्डारीलाई नियुक्त गरेको छ । मेरिटोक्रेसी अर्थात योग्यता प्रणालीका आधारमा छनोट समितिले गरेको सिफारिशका आधारमा डिन नियुक्त गरेको त्रिविले जनाएको छ ।
गएको बिहिवार बसेको त्रिविको साधारण सभा बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस सात गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिनुभएको थियो ।