प्रधानमन्त्री ओलीद्वारा योमरी पूर्णिमा र उधौली पर्वकाे शुभकामना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले तीनवटै सांस्कृतिक पर्वका अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइने प्रचलन रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइन्छ। नेपालमा बसोबास गर्ने धेरैजसो जातिहरूको आजको दिनमा कुल पूजा गर्ने चलन छ र विभिन्न ठाउँमा मेला लाग्छ।’

प्रधानमन्त्री ओलीले ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, ‘आज धान्य पूर्णिमाको दिन। पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ। असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो। आज ज्यापु दिवस पनि हो । काठमाडौँ उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइन्छ।’

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ।