मदन भण्डारी कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरूको भव्य स्वागत (फोटोसहित)
मञ्जु तामाङ, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजको स्वागत कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार कलेजको आफ्नै नव निर्मित अत्याधुनिक अडिटोरियम हलमा कक्षा १२ का विद्यार्थीहरुद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई गरिएको स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
औपचारिक र अनौपचारिक गरि दुई खण्डमा सञ्चालीत उक्त कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि एवम् क्याम्पसका अध्यक्ष महेन्द्र बहादुर पाण्डले द्वीप प्रज्वलन गरी गर्नुभएको थियो । विद्यार्थीहरुको लगनशीलता, मेहेनत र कलेजको भूमिकाको प्रशंसा गर्दै उहाँले मदन भण्डारी कलेज देशकै उत्कृष्ट कलेज बन्न सफल भएको बताउनुभयो । त्यस्तै अध्यक्ष पाण्डेले सम्पूर्ण कलेज परिवार र अभिभावकको गौरव बढाउने कार्य गर्न विद्यार्थीहरुलाई असल कामप्रति प्रोत्साहन गर्नुभयो ।
कार्यक्रममा मदन भण्डारी मेमोरियल स्कूल व्यवस्थापन समितिका अध्यक्ष डेगेन्द्र पाण्डेले विद्यार्थीहरुलाई आफ्नो विद्यार्थी जीवनको कदर गर्न र माध्यमिक तह पूरा गरेपछि के बन्ने ? के पढ्ने ? भन्ने योजना बेलैमा बुन्न आग्रह गर्नुभयो । त्यसो गरेमा अगामी शैक्षिक सत्र सफल हुने उहाँको जोड छ । सिक्ने र सिकाउने कुरामा पछाडि नहट्न तथा पढाइसंगै व्यक्तिगत आचरणलाई पनि सुधार गर्न महत्वपूर्ण कार्यकारुपमा लिन उहाँले आग्रह गर्नुभयो ।
स्वागत कार्यक्रमका अर्का अतिथी एवम् काठमाण्डौ महानगरपालिकाका शिक्षा साखा स्रोत अधिकृत रश्मि तामाङले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई शुभकामना दिँदै उज्जवल भविष्यको कामना गर्नुभयो । साथै गुण्स्तरीय शिक्षा प्रदान गर्न कलेजले हाँसिल गरेको उपलब्धिको उहाँले प्रशंसा समेत गर्नुभयो ।
क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले कलेजको नव निर्मित हलमा विद्यार्थीहरुलाई स्वागत गर्न पाइएकोमा हर्षित भएको बताउनुभयो । आफूले विद्यार्थी जीवनमा छँदा गुरुबाट पाएको मार्गनिर्देशनकै कारण असल व्यक्ति बन्न सकेको उहाँको धारणा थियो । मदन भण्डारी कलेजले पनि विद्यार्थीहरुको मनस्थिति बुझेरै आवश्यकता अनुसारको शिक्षा, सुविधा र वातावरण निर्माण गर्न हरक्षण तयार रहेको प्रमुख डा. अधिकारीको दाबी छ ।
मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल कमल न्यौपानेले कलेजले विद्यार्थीहरुको नेतृत्व विकास र व्यक्तित्व विकासमा विशेष ध्यान दिएको बताउनुभयो । मदन भण्डारी कलेजले अनुशासनलाई केन्द्रमा राखेर अघि बढेको बताउँदै अनुशासित वातावरणमै सम्पूर्ण पठनपाठन केन्द्रित रहेको जिकिर गर्नुभयो । आगामी दिनमा पनि माध्यमिकदेखि स्नात्कोत्तर तहसम्मका सम्पूर्ण कार्यक्रमहरु यसै हलमा सञ्चालन गर्ने र अतिरिक्त क्रियाकलापहरुमा बढिभन्दा बढि जोड दिने उहाँको भनाइ छ ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय तारा प्रसाद गौतम (प्रशासनीक) तथा प्रज्वल मान श्रेष्ठ (शैक्षिक), विभिन्न संकायका विभागीय प्रमुखलगायत अन्य पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
स्वागत कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रतिनिधीमूलक स्वागत मन्तव्य राखेका थिए । उनीहरुले मदन भण्डारी मेमोरियल कलेजमा अध्ययन गर्न पाउँदा खुसी व्यक्त गरे । त्यस्तै सहभागी विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य, गायन, कविता, तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।