कर्णाली याक्सको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स सात विकेटले पराजित

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार तेस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाउँदै १०६ रन बनाएको हो ।

जितसँगै कर्णालीले पाँच खेलबाट ६ अंक पुर्‍याएको छ। कर्णालीले जनकपुर बोल्ड्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार बेहोरेको थियो। तर, तेस्रो खेलमा चितवन राइनजलाई ६ विकेटले पराजित गर्दै कर्णाली प्रतियोगितामा पनुरागमन गर्न सफल भयो। त्यसयता कर्णालीले हारको स्वाद चाख्न पाएको छैन। कर्णालीले चौथो खेलमा विराटनगर किङ्सलाई सात रनले हराएको थियो ।

पोखराको भने यो तेस्रो हार हो । पोखरा चितवनसँग ८७ रन र जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तर, तेस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सानदार पुनरागमन गरेको थियो । त्यो जितको लयलाई पोखराले कायम राख्न सकेन।

कर्णालीका गुल्शनले अविजित रहँदै ४९ रनको इनिङ्स खेले । ढिला सुरुआत गरेका उनले ३७ बलमा तीन चौका र चार छक्का प्रहार गरेका हुन् । वाल्टनले ३४ बलमा ६ चौका र एक छक्कासहित ४२ रन बनाए । अन्यको ब्याटिङ भने चल्न सकेन।

पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलको नाममा एक विकेट रह्यो ।