बेलडाँगी खानेपानी आयोजनाको प्रधानमन्त्रीद्वारा उद्घाटन, विकास निर्माणका अधुरा कामलाई गति दिइने

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्गघाटन गर्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताउनुभयो ।

उहाँले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाउनुभयो । ‘देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरुको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरुको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’

कुल रु. ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २, ३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसंख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सघीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीले आइतबार देशकै अग्लो १८ तले दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको थियोे ।