दीपेन्द्रको तुफानी ब्याटिङसँगै सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं। इङ्लिस ब्याटर सैफ जैबको सानदार र कप्तान दीपेन्द्रसिंह ऐरीको तुफानी ब्याटिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनायो ।

सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाउनुभयो ।

उहाँले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हान्नुभयो । यस्तै ब्रान्डन म्याकमुलानले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाउनुभयो । आरिफ शेख शुन्य रनमा पेभेलियन फर्कनुभयो ।

बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिनुभयो । यसअघिका खेलमा ठूलो योगफल खडा गरेपनि लगातार दुई हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । आज तेस्रो खेलपनि हारेमा लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्नेछ ।

यता सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो ।