काभा पुरुष भलिबल च्याम्पियनशिप आजदेखि सुरू हुँदै
काठमाण्डौ । सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष क्लब च्याम्पियनशिप आजदेखि सुरू हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा हुनेछ ।
च्याम्पियनशिपमा नेपालसहित चार वटा देशका ५
वटा क्लबले खेल्दैछन् । नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले प्रतिस्पर्धा गर्दैछन् । हेल्प नेपाल आठौं प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताका रूपमा यो च्याम्पियनशिपमा छनोट भएका हुन । यस्तै भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडीसीले खेल्दैछन् ।
उद्घाटन खेलमा आज दिउँसो सवा ३ बजे नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले खेल्दैछन् । दोस्रो खेलमा साढे ५ बजे नेपालको गण्डकी प्रदेश र माल्दिभ्सको क्लब एचडीसीले खेल्नेछन् ।
यो च्याम्पियनशिपको बजेट एक करोड रुपैयाँ रहेको छ । च्याम्पियनशिपमा सिङ्गल राउन्ड रोबिन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी १४ वटा खेल हुनेछन् । च्याम्पियनशिपको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ । फाइनल खेल २९ गते हुनेछ ।