जारी एनपीएलमा पोखराको पहिलो जित, एन्ड्रिसले बनाए ऐतिहासिक शतक

काठमाण्डौ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलको कीर्तिमानी साझेदारीसँगै पोखरा एभेन्जर्सले लुम्बिनी लायन्समाथि जित हाँसिल गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको हो । जितका लागि एक सय ७१ रनको लक्ष्य पाएको पोखराले १६.५ ओभरमा बिना कुनै विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

पोखराका लागि एन्ड्रिसले ऐतिहासिक शतक पूरा गर्नुभयो । उहाँले ५५ बलमा १२ चौका र पाँच छक्काको सहयोगमा अविजित एक सय चार रन बनाउनुभयो । यो जारी एनपीएलमा कुनै पनि खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक रन हो । एन्ड्रिस प्लेयर अफ दि म्याचसमेत हुनुभयो ।

यस्तै ओपनर दीनेशले अविजित ६१ रन बनाउनुभयो । उहाँले ४६ बलमा चार चौका र चार नै छक्का प्रहार गर्नुभयो । एन्ड्रिस र दीनेशको यो सर्वाधिक एक सय ७६ को पाटनरसिप हो ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ९५ रन बनाउनुभयो । उहाँले ५९ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । टोम मूर्सले ४५ रन बनाउनुभयो । उहाँले ३८ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । सन्दीप जोराले १८ रन जोड्नुभयो ।

बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिनुभयो । म्याट क्रिच्ट्लीले एक विकेट लिनुभयो । दोस्रो खेल खेलेको लुम्बिनीको यो दोस्रो नै हार हो । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । तीन खेलमा पहिलो जित निकालेको पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।