एसीसी यु–१९ एसिया कपमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित

काठमाण्डौ । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ ।

यसअघिनै समूहचरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि नरेन साउदले २६ रन बनाउनुभयो । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले ३-३ विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले ३-३ विकेट लिनुभयो । हेमन्त धामी र अभिषेक तिवारीले २-२ विकेट झार्नुभयो । समूह ‘बी’ मा रहेको नेपाल यसअघि बङ्गलादेशसँग ५ विकेट र श्रीलङ्कसँग ५५ रनले पराजित भएको थियो ।