बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई आर्थिक सहयोग

पाँचथर । बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई ३ संस्थाले आर्थिक सहयोग गरेका छन् ।

 

गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र ३ वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई ३ लाख ४२ हजार ९ सय ५६ रकम सहयोग उपलब्ध गराइएको हो । यहाँका दीपज्योति युवा क्लब र फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाले २ लाख ८२ हजार ४ सय ५६ तथा फालेलुङ सेवा समाजले सङ्कलन गरेको ६० हजार ५ सय रकम सोमबार ३ परिवारलाई वितरण गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।

 

३ संस्थाले मृतकका परिवारलाई १ लाख ७१ हजार ४ सय ७८ र घाइतेका परिवारलाई जनही ८५ हजार ७ सय ३९ का दरले सहयोग उपलब्ध गराइएको बान्तवाले बताउनुभयो । यी संस्थाहरुले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरी देश तथा विदेशमा रहेकाहरुबाट उक्त सहयोग सङ्कलन गरेका थिए । सङ्कलित रकम वडाध्यक्ष भरतकुमार खपाङ्गीसहित स्थानीयको उपस्थितिमा प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

 

मृतक दीप्सन र प्रिन्सा साँवा दिलीप साँवाका छोराछोरी हुन् । गत भदौ १३ गते माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा खेल्ने क्रममा बालबालिकाहरुले उक्त बेवारिसे बम भेट्टाएका थिए । बम खेलाउने क्रममा विस्फोट हुँदा दाजुबहिनीको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए ।

 

घाइते दीप्सन राई, ज्ञानबहादुर राई तथा पवन राई दीपक राईका छोरा हुन् । उक्त घरमा ज्ञानबहादुरको परिवार बसोबास गर्दै आएको छ । घाइतेको काठमाडौँस्थित जलन अस्पतालमा उपचार भइरहेको छ ।
रासस