खोटाङमा नक्कली अपाङ्गताको नक्कली सिफारिश भेटियो

खोटाङ । खोटाङमा बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई जना युवालाई पक्राउ गरेको छ ।

शहीद लखन गाउँपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरूले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नम्बर वडा लेखिएको छ ।

उनीहरू जन्मदेखि बोल्न नसक्ने र कान नसुन्ने भनेर लेखिएको भए पनि उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका रहेका पाइएको छ ।