सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार, सुदूरपश्चिम ९० रनले विजयी
काठमाडौं। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हार बेहोरको छ। मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९२ रनले पराजित भएको हो।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।
विराटनगरका लागि बसिर अहमदले २४, राजेश पुलामी मगरले १५ र अनिल खरेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन र अभिनास बोहराले ३–३ विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो ।
प्रतियोगितामा अहिलेसम्मको उच्च योगफलमा पुर्याउन सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । २४ बलको सामना गरेका उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले ।
इनिङको अन्तिम ओभरमा दीपेन्द्रले प्रतिश जिसीलाई ३ छक्का प्रहार गरेका थिए ।
सुदरपश्चिमका ब्रान्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए । यस्तै इशान पाण्डेले १६ बलमा २१ रन जोडे । बिराटनगरका स्पिनर अनिल खरेलले ४ ओभरमा २६ रन खर्चेर तीन विकेट लिएका थिए ।
यस्तै, बसिर अहमद क्रिस सोल र इस्मत आलमले १–१ विकेट बाँडे । प्रतिश र कप्तान सन्दीप लामिछाने विकेटविहिन रहे । विराटनगरको यो लगातार दोस्रो हार हो ।