पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, ४ वटाको बाँकी
काठमाण्डाै । पालिका उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ ।
दुई अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष र ३२ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जङ्गबहादुर शाही र मोरङको ग्रामथानमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ । यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो ।
पछिल्लो नतिजाअनुसार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादीकी नरपुरा बुढा हुनुभएको छ । यसअघि पनि यहाँ माओवादी विजयी भएको थियो ।
यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । गएको चुनावमा यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्षमध्ये कांग्रेसले १६, एमालेले ५, माओवादीले ६, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् ।
रुकुमको पुथा उत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए । अब एक मेयर, दुई उपाध्यक्ष र एउटा वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।