सरकारी वकिल कार्यालय काठमाण्डौमा रवि लामिछानेको बयान सुरू

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा बयान सुरू भएको छ।

कास्की प्रहरीको हिरासतबाट काठमाण्डौ ल्याइएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको आजबाट बयान सुरू भएको हो।

आज बिहान १० बजेदेखि लामिछानेसँग बयान सुरू भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जानकारी दिनुभयो ।बिहान साढे ९ बजेतिर कार्यालयमा ल्याएर १० बजेदेखि बयान सुरू गरिएको जनाएको हो । कार्यालयमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र अनुसन्धान अधिकृतहरूले लामिछानेसँग बयान लिइरहेका छन्।

लामिछानेलाई काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो पोखराबाट काठमाण्डौ ल्याइएको थियो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

कास्कीमा लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो। लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।

स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाण्डौमा बयान लिएर कास्की फर्काइएको थियो।

सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी छ। त्यसविरूद्ध जिबी राई, छबिलाल जोशी, रवि लामिछानेविरूद्ध सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएका थिए।