जुम्ला साक्षर जिल्ला घोषणा

जुम्ला ।  जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । हिजो भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जुम्लालाई साक्षर घोषणा गर्नुभयो ।

सामाजिक विकास कार्यालय, पेश नेपाल, किर्डाक नेपाल, क्याड नेपाल, सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा साक्षर जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।

त्यही प्रावधान बमोजिम जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ९६ दशमलव ०७ प्रतिशत अर्थात ६९ हजार चार सय ७७ जनाभन्दा बढी नागरिक साक्षर रहेको सुनिश्चित भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जानकारी दिनुभयो ।

साक्षर घोषणाको मापदण्डनुसार १५ वर्षमाथि र ६० वर्षमुनिका नागरिकले आफ्नो नाम लेख्न सक्ने, १ देखि १० सम्म गन्न सक्ने, मोबाइल चलाउन सक्ने, फोन गर्न सक्ने, ट्राफिक नियम पालना गर्न सक्नेलगायत १२ वटा सूचकको ५० प्रतिशत पूरा गरेमा साक्षर पालिकादेखि जिल्ला घोषणा गर्न मिल्ने प्रावधान छन् । यसअघि जुम्लाका आठवटै पालिका साक्षर घोषणा भइसकेका छन् ।