प्रधानमन्त्री ओलीद्धारा अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउन सरकारको प्रतिवद्ध
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा समेट्ने बताउनु भएको छ।
मंगलबार काठमाण्डौमा आयोजित सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा पाउने गरी कोषमा आबद्ध हुने व्यवस्था मिलाइने बताउनुभयो। अस्थायी, ज्यालादारी, करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र समेट्नुपर्छ, केही दिन मात्र सेवा गरे पनि यो नियम लागू गर्नुपर्ने, थोरै भए पनि उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ उहाँले बातउनुभयो।
उहाँले वैदेशिक रोजगारीमा गएका सबै युवालाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको थियो। देशबाहिर रोजगारीमा रहेको २५/२६ लाख युवालाई कोषमा जोडेर उनीहरूको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सरकारले जनताको सुख, समृद्धि र सुरक्षाको उद्देश्य राखेको बताउँदै सामाजिक सुरक्षा कोषले त्यसको ग्यारेन्टी गर्ने बताउनुभयो। सबैको अन्तिम चाहना सुख भएको बताउँदै उहाँले राज्यले त्यसका निम्ति काम गर्ने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्रीले सरकारले सामाजिक सुरक्षाको दायरालाई पनि विस्तार गरिने बताउनुभयो। उहाँले ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा पनि गर्नुभयो।
उहाँले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने दाबी गर्नुभयो।
प्रधानमन्त्री ओलीले अहिलेको संविधान र सरकार जनताप्रति जिम्मेवार भएको बताउनुभयो। त्यसैले सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो।