मिडिया काउन्सिल लगायतका विधेयक पास गर्ने तयारीमा छलफल : मन्त्री गुरुङ
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयक लगायतका विभिन्न विधेयकलाई पास गर्ने गरी छलफल अघि बढाएको बताउनुभएको छ ।
मङ्गलबार काभ्रेपलाञ्चोकबाट सञ्चालित मदानी बिट डटकमको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सञ्चार माध्यमहरुको नियमनलाई व्यवस्थित बनाउनका लागि मिडिया काउन्सिल विधयेक, सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन विधयेक र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन ल्याउन लागेको बताउनुभएको हो ।
मन्त्री गुरुङले प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमहरुको नियमन भइरहे पनि त्यो अपर्याप्त भएकोले मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रुपमा विकास गर्नका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक संसदीय समितिमा छलफलमा रहेकोले आउने हिउँदे अधिवेशनमा पास गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मिडिया विधेयकसँगे सामाजिक सञ्जाल प्रयोग, सञ्चालन, नियमन र साइबर सेक्यूरिटी क्राइमसम्बन्धी ऐन समेत हिउँदे अधिवेशनबाट पास गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले ठुलो परिवर्तन भएको देखिने गरी कुनै काम नगरेको बताउँदै पुराना बिग्रेका सानासाना कुराहरुलाई सुधार गर्नेतर्फ सरकारले काम अघि बढाएको बताउनुभयो । उहाँले विभिन्न ऐन, कानुनका कारणले मन्त्रालयहरुबीच समन्वय नभएका कारण काम गर्न समस्या भएकोले सरकारले यी कार्यालयहरुबिच समन्वय गराउन, सरकारले अघि बढाएको काममा एकीकृत गराउनका लागि ऐन, नियमहरु समयानुकूल परिवर्तन गर्न लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बिआरआई परियोजनालाई ऋणको रुपमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।