स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य : प्रमुख चिरीबाबु महर्जन

ललितपुर । लितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि हिंसारहित समाज अनिवार्य रहेको बताउनुभएको छ।

ललितपुर महानगरपालिकाद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहमा उहाँले सभ्य, सुसंस्कृत र आधुनिक समाजका लागि हिंसामुक्त हुनुपर्नेमा जोड दिनुभयो। ‘जिम्मेवार पदमा बसेकाले मात्रै हिंसा न्यूनीकरणमा काम गर्न सक्ने हैन, सबै मिलेर लाग्नुपर्छ। उहाँले हिंसारहित समाजका लागि जोड दिँदै ललितपुरको विकास र समृद्धिका लागि ‘पाटन सिटी डज नट स्लिप’ योजना अगाडि बढाइने बताउनुभयो।

महानगर उपप्रमुख मञ्जली शाक्यले हिंसा सहनु र सहने प्रवृत्तिको पक्षपोषण गर्नु सामन्ती प्रथाको पक्षपोषण गर्नु भएकाले सबै सचेत भएर हिंसा न्यूनीकरणमा लाग्नुपर्छ भन्नुभयो। ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले तीन सय ६५ दिन नै महिला हिंसाविरुद्धमा लाग्नुपर्ने बताउनुभयो। उहाँले हिंसाका घटना भएपछि उपचारको बाटो रोज्नु भन्दा हिंसा हुन नदिन सचेतता फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान साङ्केतिक कार्यक्रम मात्रै भएको र हरेक दिन हिंसाविरुद्ध तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो।

महिला विकास शाखा प्रमुख शोभा खरेलले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियानलाई प्रभावकारी बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो।