पूर्वराष्ट्रपति भण्डारीद्वारा स्वर्गीय ढुङ्गानाको निवासमा पुगी शोक व्यक्त
काठमााडौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पूर्व सभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको निवासमा पुगी शोकमा रहनुभएका परिवारजनलाई समवेदना प्रकट गर्नुभएको छ ।
पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो । सोक्रममा पूर्वराष्ट्रपति भण्डारीले वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेतासमेत रहनुभएका ढुङ्गानाको निधनको खबरले आफु अत्यन्तै दुःखी भएको बताउनुभयो ।
उहाँले ढुंङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२र६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुर्याउनु भएको विशिष्ट योगदानका लागि आफुहरुले उहाँलाई सदा सदा सम्झिरहने बताउनुभयो ।
ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले परिवारजनलाई समवेदना सन्देश हस्तान्तरण गर्नुभयो ।
पूर्व सभामुख ढुंगानाको गत मंसिर २ गते काठमाडौंमा निधन भएको थियो । ढुंगाना ०४८ सालदेखि ०५१ सालसम्म सभामुख बन्नुभएको थियो ।