भन्सार महसुल घटेसँगै सुनको मुल्य एकैदिनमा १५ हजार ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको मुल्य आज एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेको छ । हिजो १ लाख ६७ हजार २ सय रुपैयाँ रहेको सुनको मुल्य आज एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि कात्तिक १५ गते १ लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको मुल्य  कात्तिक अन्तिममा लगातर घटेर १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि तोलामा १ सय १५ रुपैयाँले घटेर १ हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ ।

मङ्सिर लागेपछि निरन्तर बढेको सुनचाँदीको भाउ सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै आज एकैदिन ठूलो अङ्कले घटेको हो ।

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो ।