रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ ।
सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्याएपछि आज पाँचौं पटक म्याद थप भएको हो ।
यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन, तेस्रो पटक १० र चौथो पटक १३ दिनको समय दिएको थियो ।
लामिछानेलाई प्रहरीले रुपन्देही लगेरसमेत बयान लिइसकेको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौबाट समेत पक्राउ पूर्जी जारी भएको छ ।