मृत्युपछि मानवअंग दान गर्नेको परिवारलाई २ लाख दिने निर्णय : स्वास्थ्य मन्त्री पौडेल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्यु पश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गर्नुभएको छ।

यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत १ लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गर्नुभएको हो ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो । अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपियाँमा मन्त्रालयले २५ हजार रुपियाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।

मन्त्री पौडेल स्वयंलेसमेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसक्नु भएको छ । देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् ।

विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।

हाल नेपालमा मिर्गौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।