लेबनानमा १३ महिनादेखिको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीको ज्यान गयो
काठमाण्डौ।लेबनानमा १३ महिनादेखि भइरहेको आक्रमणबाट २ सय २६ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । गएको वर्ष अक्टोबर ७ तारिखमा गाजामा इजरायली आक्रमण सुरु भएयता लेबनानमा ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच १३ महिनाभन्दा लामो समयदेखि भइरहेको सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा १ सय ८७ वटा आक्रमणका घटना भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
प्राप्त तथ्याङअनुसार सन् २०२३ अक्टोबर ७ देखि यस वर्षको नोभेम्बर १८ तारिखसम्ममा २ सय २६ स्वास्थ्यकर्मीको ज्यान गएको र १ सय ९९ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।
हालैका घटनापछि गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पुर्याएको छ । डब्लूएचओले लेबनानका १ सय ५३ अस्पतालमध्ये १५ वटा बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको जनाएको छ ।
पूर्वी क्षेत्रका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले स्वास्थ्य सेवामा हुने आक्रमणबाट स्वास्थ्यकर्मीले ज्यानै गुमाउनुपर्ने र त्योसँगै उनीहरु माथि गरिएको लगानी पनि गुम्ने अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ ।