तनहुँमा यस वर्ष ५० करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमानं
तनहुँ।तनहुँका किसानले गएको आर्थिक वर्ष झन्डै ४० करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन् । ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा झन्डै ४० करोड रुपैयाँ आम्दानी भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
यस वर्ष क्षेत्रफलमा वृद्धि हुँदा उत्पादन बढ्ने र मूल्य पनि वृद्धि हुँदा झन्डै ५० करोड रुपैयाँ आम्दानी गर्ने सम्भावना रहेको केन्द्रका सूचना अधिकारी किरण परियारले बताउनुभयो । केन्द्रले सुन्तला खेती गर्ने किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । किसानलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइने गरेको सूचना अधिकारी परियारले बताउनुभयो ।
तनहुँमा किसानले आफ्ना बगैँचा बनाउनुका साथै आठ वटा ब्लकमा पनि खेती भइरहेको छ । ब्लक बन्नका लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने व्यवस्था छ ।
तनहुँमा उत्पादित धेरैजसो सुन्तला काठमाण्डौमा बिक्री हुन्छ । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् ।