रोशी गाउँपालिकाले बाढी पीडितलाई सघाउन बजेट संशोधन
काभ्रे।रोशी गाउँपालिकाले बाढी पीडितलाई सघाउन चालू आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बाढी पीडितलाई तत्काल सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट संसोधन गरी खर्चको व्यवस्थापन गरेको हो । गाउँसभाको १५औँ अधिवेशनले विपद् कोषमा २ करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।
सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ । रोशी गाउँपालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो । यस्तै ४ सय ८२ घरमा पूर्ण र ८ सय ८३ घरमा आंशिक क्षति भएको छ । पालिका भित्र २ हजार ५ सय ४४ परिवारको खेतीबालीमा क्षति भएको छ ।
बाढीले १ सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय भवन, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा क्षती पुगेको गाउँपालिकाले जनाएको छ ।