सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाण्डौ।सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा नगरपालिकाका पूर्वमेयर गङ्गा पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव रहेका विशेष अदालतले जनाएको छ ।

उनीहरूलाई सजाय निर्धारणका लागि आउँदो मङ्सिर १० गतेका लागि तोकिएको छ । आयोगले गएको चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको थियो । आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै एक करोड ८ लाख रुपैयाँ बिगो बमोजिम जरीमाना र कैद सजायको माग गरेको थियो ।