टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाण्डौ।गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले  जानकारी दिनुभयो ।

गत असारमा काठमाण्डौ महानगरपालिका–१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताउनुभयो ।

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ । काठमाण्डौका उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका १-१ स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुनेगरेको छ ।

सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन । पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो । पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन् ।