पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न
तनहुँ।मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा र्२ लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी ४ लेन र ५ किमी २ लेनको सडकमा कालोपत्र गरिएको हो ।
तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको चाडवाड सकियो अब निर्माणले झन् गति लिने उहाँले बातउनुभयो ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ को दमौली बजार र व्यास–५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो । ३ सय १५ मिटर लामो पुल ‘आर्क डिजाइन’को चार लेनको हुने, आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल डिजाइन गरिएको उहाँले बातउनुभयो ।
पर्यटक पनि आकर्षित गर्ने भनी कलात्मक निर्माण गर्न लागिएको ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । पुलको सातवटा ‘फाउन्डेसन’ निर्माण गरिएको र हाल पानीमुनि पाइलिङ, पाइल क्याप र पिलरको काम पूरा गरी पानीमाथि ‘सुपर स्ट्रक्चर’ निर्माण भइरहेको बातउनुभयो ।
हाल रहेको २ लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि १ अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार नेपालमै पहिलोपटक ४ लेनको पुल निर्माण भइरहेको र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको छ ।
निर्माणाधीन सोही पुल नजिक दुई लेनको तीन सय ७० मिटर लामो पुलबाट हाल सवारी आवतजावत भइरहेका छन् । कूल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन–पोखरा सडकको विस्तार विसं २०७८ वैशाखदेखि सुरु भएको हो । हाल उक्त राजमार्ग दुई लेनको छ ।
पूर्वी र पश्चिमी खण्ड गरी २ भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन–पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर रहेको छ ।