१ वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको १ वर्ष भयो । १ हिउँद र १ बर्खा टिनको टहरामा कटाएका उहाँलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो कि भन्ने डर रहेको छ । गतवर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उहाँको परिवार हाल टिनको टहरामा छ ।

एक वर्ष कष्टकर बिताएको अब फेरि चिसो बढ्न थालेको , यो वर्षको चिसो कसरी कटाउने भन्ने पिर भएको पुनले बातउनुभयो । भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा भएको बातउनुभयो । १ वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन नसकेको ,भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो । उक्त रकम पूरा नदिएको भूकम्प पीडितको गुनासो छ ।

तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भएपनि पुनःनिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताउनुभयो । सङ्घीय सरकारले पुनःनिर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्प पीडितको आवास निर्माण ढिलाइ भएको उहाँको भनाइ छ ।राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुनःनिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङक अनुसार जिल्लाभर ३४ हजार ९ सय ८९ लाभग्राही छन् भने ३२ हजार ९ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन् । २ हजार २ जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् । १६ हजार परिवारका लागि दोस्रो किस्ता निकासा भइसकेको छ ।