मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री

काठमाण्डौ। यसपालीको तिहारमा मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री भएका छन् । म्याग्दी, बागलुङ, पोखरा र काठमाण्डौका बजारमा पुर्‍याउन कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडारच्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाकारी दिनुभयो ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशैँमा आठ हजार भेडाच्याङग्रा बिक्री भएका थिए । स्वास्थ्य परीक्षण गरेर मात्रै भेडाच्याङग्रा बजार पठाउने गरिएको छ । उत्पादन बढेको र मूल्य घटेको हुँदा विगतको तुलनामा यसपालीको दसैँरतिहारमा भेडाच्याङग्राको कारोबार राम्रो भएको केन्द्र प्रमुख अर्यालले बताउनुभयो ।

किसानले तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३७ हजार रुपैयाँका दरले च्याङग्रा बिक्री गरेका छन् । बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छन् ।

गएको वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका व्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजार रुपैयाँमा किसानबाट खरिद गरेका छन् । गएको वर्ष बजारमा ल्याएको च्याङग्रा भाउ महँगो हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासोसमेत गरेका थिए ।