हङकङ सिक्सेसमा अस्ट्रेलियामाथि नेपालको रोमाञ्चक जित
काठमाण्डौ । हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालले धमाकेदार जित हात पारेको छ । पहिला ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा १११ रन बनाएको थियो । तर अस्ट्रेलियालाई १०० रनमा रोक्दै नेपालले ११ रनको जित हात पारेको हो । छ । समूह बी मा रहेको नेपालले शनिबार बिहान हङकङको मङककमा भएको खेलमा अस्ट्रेलियाविरुद्ध टस हारेपछि पहिला ब्याटिङ गरेको थियो ।
नेपालको जितमा कप्तान तथा ओपनर सन्दीप जोरा र बलर प्रतिस जिसीको महत्वपूर्ण भूमिका रह्यो । जोराले १६ बलमा अर्धशतक बनाए । अर्धशतक बनाएपछि रिटायर्ड हुनुपर्ने नियमअनुसार उनले मैदान छाडेपछि विवेक यादव मैदानमा आएका थिए । जोराको यो लगातार दोस्रो अर्धशतक हो । उनले इंग्ल्यान्डविरुद्ध पनि अर्धशतक बनाएका थिए । बमले १३ बलमा ३३ रन बनाए । विवेकले ४ बलमा १२ रन बनाए ।
बलिङतर्फ जिसीले २ ओभरमा मात्र २४ रन दिएर तीन विकेट लिए । नेपालले अन्तिम ओभरमा २२ रन सुरक्षित गर्दै जित निकालेको हो । विवेक यादवले नेपालका लागि अन्तिम ओभर बलिङ गरेका थिए ।
यसअघि शुक्रबार इंग्ल्यान्डलाई पराजित गरेपछि नेपाल क्वार्टरफाइनलमा पुगिसकेको छ । आजै दिउँसो श्रीलंकासँग नेपालले क्वार्टरफाइनल खेल्नेछ ।