एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद १ लाखसहित सम्मानित
काठमाण्डौ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिशा कार्की नगद १ लाख पुरस्कारसहित सम्मानित हुनुभएको छ । एसएस फाउण्डेसनले बानेश्वरमा १ कार्यक्रम आयोजना गरेर कार्कीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।
एसएस फाउण्डेसनका संरक्षक सोभित उप्रेती र अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठले अमिशालाई नगद १ लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।अस्ति बुधवार सम्पन्न साफ महिला च्याम्पियनशिपमा नेपाललाई फाइनलसम्म पुर्याउन अमिशाको महत्त्वपूर्ण भुमिका थियो । उनले फाइनल पनि बङ्गलादेशविरुद्ध गोल गरेकी थिइन् ।
सम्मान कार्यक्रममा अमिशाले समर्थकको राम्रो साथका बाबजुद यसपल्ट उपाधि जित्न नसके पनि आउँदो संस्करण जसरी पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।फाउण्डेसनका संरक्षक उप्रेतीले खेलाडीहरूले पुर्वाधार, सेवासुविधाका कमी हुनुको बाबजुद यो सफलता प्राप्त गरेको अवस्थामा उनीहरूलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताउनुभयो ।