लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उहाँले बताउनुभयो । विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ ।

अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने र मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेको ,अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने, चिनियाँ पर्यटक पनि भिसा लगाएर नाका हुँदै मुस्ताङ आउन पाउने सहायक प्रजिअ सुवेदीले बातउनुभयो । उहाँका अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ ।

चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ । आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिनुभयो ।

रासस