नेपाली गीत सङ्गीतको श्रीवृद्धिमा रेडियो नेपाल सधैँ अग्रपङ्क्तिमा उभिन्छ : कार्यकारी निर्देशक लामा
काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले नेपाली गीत सङ्गीतको श्रीवृद्धिमा रेडियो नेपाल सधैँ अग्रपङ्क्ति उभिने बताउनुभएको छ ।
रेडियो नेपालले तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज सिंहदरबारमा आयोजना गरेको पर्व विशेष धुनहरूको प्रस्तुति कार्यक्रममा कार्यकारी निर्देशक लामाले आगामी दिनमा नेपाली समुदायमा प्रचलित सबै पर्वका धुन निर्माण गरि सबै समुदायको अपनत्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने बताउनुभयो ।
उहाँले प्रसारण पहुँच अभिवृद्धि गरी आम श्रोतागणको रुचि र चाहानाको आधारमा रेडियो नेपालका पुराना गीत सङ्गीतलाई डिजिटल प्लेटफर्ममा समेत राखिने बताउनुभयो ।
कार्यकारी निर्देशक लामाले समूह कार्यले संस्थाको कार्यसम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्नुहुँदै सरकारको सय दिनको उपलब्धिमा रेडियो नेपालले हासिल गरेको सफलता समूह कार्यको परिणाम भएको बताउनुभयो ।
हाँले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको समावेशी चरित्र स्थापित गर्दै सबै जातजाति, भाषा–भाषी र समुदायको प्रतिनिधित्व सुनिश्चित हुनेगरी रेडियो नेपालले विभिन्न २५ वटा भाषामा समाचार प्रसारण गरिरहेको जानकारी दिनुभयो ।
मौलिक धुनका सर्जकहरूप्रति सम्मान व्यक्त गर्नुहुँदै कार्यकारी निर्देशक लामाले पर्व विशेष सङ्गीत धुनहरूको प्रस्तुतिका लागि सम्वद्ध सबैमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा नायव कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले आगामी दिनमा पनि विभिन्न पर्वका अवसरमा रेडियो नेपालले साङ्गीतिक प्रस्तुति राख्ने बताउनुभयो ।
पर्व विशेष सङ्गीत धुनहरूको प्रस्तुतिमा मङ्गल धुन, देउसी धुन, नेपाल संवत् धुन, छठ धुन र भैलो धुन राखिएको थियो ।
पर्व विशेष धुनहरूको प्रस्तुतिमा मनराजा नकर्मी, बद्रिविशाल तण्डुकार, डा. निरञ्जन भण्डारी, न्हुछे महर्जन, सुनिल बर्देवा, नवराज गुरुङ, दिपक सुनाम, हरिशंकर चौधरी, खड्ग गर्बुजा, खड्ग गन्धर्व र रुबिन गन्धर्वको सहभागिता रहेको थियो ।
यस्तै, कोरसमा निर्मला घिसिङ, सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का र सितु मानन्धरको प्रस्तुति थियो ।