कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्ने कार्यक्रम छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. सिन्धुप्रसाद ढगानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मंसिर ७ गते)सम्म अरजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
उहाँले कोप–२९ मा लैजाने एजेन्डालाई अझै बढी प्रभावकारी बनाउन छलफल भएको सम्मेलनले सहयोग गर्ने बताउनुभयो । रासस