इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण, १९ जनाको मृत्यु

इजरायलले दक्षिण लेबनानको तेफाहतामा मंगलबार एउटा ३ तले घरमा गरेको आक्रमणमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको छ । मर्नेमा ६ जना महिला र ५ बालबालिकासमेत रहेको स्थानीय अधिकारीले बताएका छन् । साउद हमाउदले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेमा विद्यालयमा पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता पनि परेको बताइएको छ ।

आक्रमणमा परेर उक्त घर नजिकैबाट हिँडिरहेका गाउँका इमाम शेख अब्दो आबो रायाको पनि मृत्यु भएको छ । यस घटनाबारे इजरायली सेनाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।

तर सेनाले बारम्बार सर्वसाधारणलाई सकेसम्म कम क्षति पुर्‍याउने उपायहरू अपनाउने चाहिँ भनिरहेको छ । गएको चार हप्तायता इजरायली सेनाले लेबनानमा हजारौँ हवाई हमला गरिसकेको छ । आफ्ना सबै आक्रमण त्यहाँ रहेको इरानसमर्थित सशस्त्र समूह हिजबुल्लाहको सञ्चालन, पूर्वाधार र हतियारलाई लक्षित भएको सेनाको भनाई छ ।

इजरायलले लेबनानको दक्षिणी र पूर्वी क्षेत्रहरूका साथै माउन्ट लेबनान र बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमणलाई तीव्र पारेको छ । साथै इजरायलले यस महिनाको सुरुमा दक्षिणी लेबनानसँगको सिमाना नजिकै भूमिगत अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

रासस/सिन्ह्वा