आज पूर्व गृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालत पेश गरिँदै
काठमाण्डौ।सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गर्दैछ। हिजो अबेरसम्म पनि बयान नसकिएपछि प्रहरीले म्याद थपका लागि लामिछानेलाई अदालत पेश गर्न लागेको हो।
जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो। सो म्याद आज सकिएको छ। म्याद थपका लागि लामिछानेलाई आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताउनु भयो।
अनुसन्धान नसकिएको भन्दै थप केही दिन माग्ने प्रहरीको तयारी छ।सरकारी वकिलको कार्यालयमा बुधबार दिउसो साढे दुई बजेबाट सुरु भएको बयान अबेरसम्म पनि नसकिएपछि लामिछाने असन्तुष्ट बन्नु भएका थिए। बयान अधुरो राखेर म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले असन्तुष्टि जनाएको प्रहरी स्रोतको भनाई छ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान नसकिएको हो।