शेयर बजारमा २० दशमलव ४१ अङ्कको गिरावट

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज (बुधबार) फेरी घटेको छ । आइतबार र सोमबार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ४५ दशमलव ३९ अङ्कमा झरेको छ । आज फाइनान्स र व्यापारबाहेक सबै समूह घटेको छ ।

आज माहुली लघुवित्त र हिमालयन बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज आइसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्दा समृद्धी फाइनान्सको शेयर पनि नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।

नेप्से घटेको दिन आज कारोबार रकम भने बढेको छ । मंगलबार चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएको छ ।