धानमा दाना नलागेपछि किसान चिन्तित

सर्लाही। लालबन्दी नगरपालिका र बागमती नगरपालिकाका किसानले लगाएको साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्ने समस्या देखिएको हो । यो धानको बिउ नगरपालिकाले खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाटै देशभरका पालिकालाई सिफारिस भएर आएको साँवा मन्सुली सव-१ जातको धानको बिउ लालबन्दी र बागमती नगरपालिकाले सहकारी संस्था, कृषक समूह र किसान स्वयम्लाई वितरण गरेको थियो ।

धानमा दाना नलागेपछि राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषा र बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन,
काठमाण्डौबाट कृषि प्राविधिकको टोली आएर स्थलगत निरीक्षण गरी फर्किएको छ ।

निरीक्षणमा आएका राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका प्राविधिक अधिकृत परमानन्द शर्माले धान पसाउने बेला असोज पहिलो साता केही दिन तापक्रम अत्यधिक बढेको र त्यसपछि तीन दिनसम्म अविरल वर्षा भएका कारण मौसम अनुकूल नहुँदा धानमा दाना नलागेको बताउनुभयो । धान पसाउने बेला ठुलो पानी परेर धानको फूल धोइदिएकाले राम्रोसँग परागसेचन हुन नपाएको बताउँदै उहाँले त्यसैले गर्दा धानमा दाना कम लागेको बताउनुभयो ।

लालबन्दीमा १० टन र बागमतीमा १३ टन धानको बिउ वितरण भएको पालिकाको कृषि शाखाले जनाएका छ । कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले साँवा मन्सुली सव–१ जातको धानमा दाना नलाग्नेसँगै कालो पोके र गवारोको प्रकोपसमेत देखिएकाले जिल्लामा धान उत्पादनमा कमी आउने देखिएको बताउनुभयो । उहाँले कृषि विज्ञसहितको टोली अनुगमन गरेर फर्किएको र टोलीले दिएको प्रतिवेदनका आधारमा स्थानीय, प्रदेश र सङ््घीय सरकारबाट पीडित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने जानकारी दिनुभयो ।

लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले अघिल्ला वर्षमा अनुदानमा धानको बिउ वितरण गर्दा कुनै समस्या नआए पनि यस पटक समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार लालबन्दी नगरभित्र यो जातको धानमा ५० देखि ९० प्रतिशतसम्म दाना नलाग्ने समस्या देखिएको छ ।
अनुदानमा बिउ किनेर रोपेको धानमा दाना नलागेपछि सर्लाहीका किसान मारमा परेका छन् ।