सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियो, आजै त्यसतर्फ जाँदै

काठमाण्डौ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । सन्दीपलाई अमेरिकाले भिसा दिएको र उनी आजै त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

सन्दीपले अमेरिकामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्नेछन् । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिदेशीय शृङ्खला यही कात्तिक ९ गतेदेखि कात्तिक १९ गतेसम्म सञ्चालन हुँदैछ ।

अहिले अमेरिका र नेपालबीच तीन खेलको टी–२० शृङ्खला चलिरहेको छ । यो शृङ्खलाको पहिलो खेल नेपालले जितेको छ । टी–२० शृङ्खलापछि लिग–२ को खेल सुरु हुनेछ । लिग–२ मा नेपालले आफ्नो पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ । यस्तै दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिकाले भिसा नदिएका कारण सन्दीप आईसीसी टी–२० विश्वकप अन्तर्गत अमेरिकामा भएका खेलहरूमा सहभागी भएका थिएनन् ।