करेन्ट लागेर १ बालिकाको मृत्यु , २ जान घाइते

काठमाण्डौ। महोत्तरीको गौशाला नगरपालिकामा आज बिहान करेन्ट लागेर १ बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार करेन्ट लाग्दा गौशाला ३ स्थित पचाइन टोलकी १२ वर्षीया करिनाकुमारी महतोको मृत्यु भएको हो । बालिकासँगै खेततर्फ जाँदै गरेका छिमेकका १४ वर्षीया साथी विमाकुमारी महतो र १८ वर्षीया राधाकुमारी महतो घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार घटनास्थलमै मृत्यु भएको बालिकाको घटना मुचुल्का गरि पोष्टमार्टमका लागि बर्दीबास असपताल पठाइएको छ । घाइते बालिकाहरुलाई गौशालास्थित नीजि असपतालमा भर्ना गरिएको छ ।

गाँउ नजिकको तरकारी खेतको सुरक्षाका लागि जग्गा धनीले घेरवेर गरेको तारजालीमा करेन्ट प्रवाह गरेका थिए । करेन्ट प्रवाहबारे जानकारी नहुँदा सोही तारजालीमा छोइएपछि घटना वारदात भएको प्रहरीले जनाएको छ । करेन्ट प्रवाह गर्ने जग्गा धनीको खोजी जारी छ ।