मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या बढयो,११ सय नाघ्यो
काठमाण्डौ।मकवानपुरमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जिल्लामा एक हजार १५३ जनामा डेंगु पुष्टि भएको हो । गत आर्थिक वर्षमा जिल्लामा ८९१ जनामा डेंगु भएकोमा चालु आवको तीन महिनामा डेंगु सङ्क्रमण ह्वातै बढेको तथ्याङ्क छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् भने ४६७ पुरुष र ४६९ महिलागरी ९३६ जनामा डेंगुु सङ्क्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै मनहरी गाउँपालिकामा ६९ जना, मकवानपुरगढी गाउँपालिकामा ३३, भीमफेदी गाउँपालिकामा १७ जना, बकैया गाउँपालिकामा १५, थाहा नगरपालिकामा ११, कैलाशमा ७, बागमती र राक्सिराङ गाउँपालिकामा दुई-दुईजनामा डेंगु पुष्टि भएको हो । अन्य जिल्लाका २४ जना र ठेगाना नखुलेको ३७ जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवरमा डेंगु सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।
हेटौँडा उपमहानगरपालिकामा २०७, मकवानपुरगढीमा ४८, मनहरीमा २३, बकैयामा २० जना र भिमफेदीमा १७ जना, राक्सिराङमा चार जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ । त्यस्तै बागमतीमा तीन जना, कैलाशमा २, इन्द्रसरोबरमा एकजना प्रभावित हुनुभएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अन्य जिल्लाका नौ र ठेगाना नखुलेका चार जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ ।