मन्थली–सोलुखुम्बुको लुक्ला उडान सुरू, मन्थलीमा रोकिएका ५ सय जनाभन्दा धेरै पर्यटक लुक्ला पुगे

सोलुखुम्बु । मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको रामेछापको मन्थली–सोलुखुम्बुको लुक्ला उडान आज बिहानदेखि सुरू भएको छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा अस्ति सोमवारदेखि उडान ठप्प भएको थियो । आज दिउँसोसम्म लुक्लामा २२ वटा उडान अवतरण भएको छ । तीमध्ये ६ वटा काठमाण्डौबाट र अरू रामेछापको मन्थलीबाट भएका लुक्लाका एटीसी अफिसर विवश दाहालले जानकारी दिनुभयो ।

सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली पुगेर रोकिएका एक हजारभन्दा धेरै पर्यटकमध्ये पाँच सय जनाभन्दा धेरै उडानमार्फत लुक्ला पुगेका छन् । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकलाई रामेछापको मन्थली विमानस्थलबाट लुक्ला पुर्‍याउने र ल्याउने व्यवस्था गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार आइतवार ९० वटा उडानमार्फत झन्डै आठ सय जना पर्यटक भित्रिएकामा लुक्लामा मौसम खराब हुँदा सोमबार र हिजो मङ्गलबार कुनै पनि उडान हुन सकेको थिएन ।