डडेल्धुरा बस दुर्घटना अपडेट: मृतक चारैजनाको सनाखत

काठमाण्डौ ।डडेल्धुराको खस्रयाखानमा रात्रि बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरबाट बैतडीको पुरचौडी तर्फ गइरहेको पबनदुत यातायात प्रा.लि.को ना. ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृतक चार जना मध्ये एक पुरुष, २ महिला र एक नाबालकको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभएको छ । मृतकहरुमा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीय जयमती बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् ।

यसैगरी,पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् । गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । बैतडी बझाङ दशरथचन्द राजमार्गबाट झण्डै तिन सय मिटर तल खसेर पोखरा बेलापुर सडकखण्डमा परेको थियो