अन्तर व्यवस्थापिका संघसँग घनीभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाण्डौ ।अन्तर व्यवस्थापिका संघको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघका अध्यक्ष डा.तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुुभएको छ।

दुवै भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रको सुदृढीकरणका लागि संसदीय भूमिकालगायत विषयमा छलफल भएको थियो । जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैंगिक समानता, युवा सशक्तिकरण, दिगो विकासलगायत विषयमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेकोअध्यक्ष दाहालले बताउनुभयो ।

संसदीय अभ्यासलाई अझ परिस्कृत तुल्याउन तथा लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन अन्तर व्यवस्थापिका संघसँग नेपालले घनीभूत सहकार्य गर्न चाहेको र आईपीयूसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको बताउँदै उहाँले यसको सचिवालयमा नेपालको पनि सहभागिता आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको जानकारी दिनुहुदै संघीय संसद्मा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधिका रूपमा सहभागी रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष अक्सनले नेपाल विगतदेखि नै आईपीयूमा सक्रिय सहभागी भएकामा त्यसको सराहना गर्दै नेपालको संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिताको प्रशंसा गर्नुभयो र यसको सचिवालयमा नेपाललाई समावेश गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।

संघको बैठक आगामी कात्तिक १ गते समापन हुनेछ ।