लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

काठमाण्डौ । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको पछिल्लो आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै छानबिन गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल एक्सु मा संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (यूएनआईएफआईएल) का शान्ति सैनिकमाथि लेबनानमा इजरायलबाट हालै भएको आक्रमणको निन्दा गर्दै सङ्घर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र सङ्घकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो । लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र सङ्घको शान्ति सेनाको रूपमा खटिँदै आएको छ ।

राष्ट्र सङ्घका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना अस्ति आइतवार बलजफ्ती प्रवेश गरेका थिए । हिजो इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका थिए ।

संयुक्त राष्ट्र सङ्घको शान्ति सेनामा योगदान दिने नेपालसहित विभिन्न देशले इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् । साथै उनीहरूले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न र शान्ति कायम राख्न आवश्यक पहल गर्न सम्बन्धित पक्षलाई आह्वानसमेत गरेका छन् ।