महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहिबारदेखि काठमाडौँमा हुँदै छ । यस प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेशी, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदै छ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बङ्गलादेशले उपाधि जितेको छ ।

एन्फाले घोषणा गरेको टिम:
गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डर:
गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डर:
रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड:
रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी ।