तनहुँको व्यासमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेपछि भुइँमै राखेर उपचार

तनहुँ । व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गीका बिरामीको सङ्ख्या बढेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पताल दमौलीमा शय्याको अभाव भएको छ। अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ।

१५ शय्या क्षमताको जिल्ला अस्पतालमा दैनिक झण्डै चार सयको हाराहारीमा ज्वरोको लक्षणसहित बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । विशेष गरेर डेङ्गीका बिरामीको चाप उच्च रहेको उहाँको भनाइ छ ।

उपचारका लागि आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा अहिलेसम्म दुई सय ९७ जनामा डेङ्गीको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिनुभयो । दमौली अस्पतालमा तनहुँ, लमजुङ, गोरखालगायतका जिल्लाबाट बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।