जुम्लामा दशैँको अवसरमा १६ करोड रुपैयाँभन्दा धेरैको भेडा तथा खसीबोकाको कारोबार

काठमाण्डौ । जुम्लामा यस वर्षको दशैँको अवसरमा १६ करोड रुपैयाँभन्दा धेरैको भेडा, खसीबोका लगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएकासमेत गरेर सात हजार नौ सय २८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार रहेकोमा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत १६ हजारमा बिक्री भएका छन् । राँगाभैँसी अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजारमा किनबेच भइरहेका औसत ३८ हजारमा बिक्री भएका थिए । २०६८ सालदेखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा, खसीबोका बिक्रीवितरण हुने गरेका छन् ।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमासमेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।