ताइवानको टापुमा चीनको नयाँ सैन्य अभ्यास : तनाव थप बढ्यो

चीनले ताइवानको टापुमा आजदेखि नयाँ सैन्य अभ्यास सुरु गरेको छ । युद्धपोत र लडाकु विमानले भाग लिइरहेको सैन्य अभ्यास टापु वरपर नौ ठाउँमा भइरहेको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने अभिव्यक्ति दिएको केही दिनपछि चीनले यो अभ्यास शुरु गरेको हो । यसले चीन–ताइवान तनावलाई थप बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताइवानका राष्ट्रपति विलियम लाइले यसअघि चीनको नियन्त्रण नस्वीकार्ने अभिव्यक्ति दिनुभएको थियो । अलजजिराका अनुसार पीपुल्स लिबरेसन आर्मी (पीएलए) पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको छ । चीनले टापु आफ्नो दाबी गर्दै आएको छ ।

चीनले ताइवानलाई छुट्टिएको एक प्रान्तको रूपमा हेर्छ । तर ताइवानको रक्षा मन्त्रालयले स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न तथा ताइवानको सार्वभौमसत्ताको सुरक्षा गर्न आवश्यक सेनाहरू पठाएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ताइवान वरपर चीनको सैन्य अभ्यासको निगरानी गरिरहेको जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ । एजेन्सी

तस्बिर : एजेन्सी